कार्तिक १९ । च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखले रेडबुल साल्जबर्गलाई हराएको छ। मंगलबार राति शतप्रतिशत जित निकाल्ने क्रममा बायर्नले साल्जबर्गलाई ६–२ गोल अन्तरले पराजित गरेको हो। मर्गिम बेरीशाले सुरुवातमै घरेलु टोली साल्जबर्गलाई अग्रता दिलाएका थिए। रोबर्ट लेवान्डोसकीले पेनाल्टीमार्फत खेल बराबरीमा ल्याए।
साल्जबर्गका डिफेन्डर रासमस क्रिस्टेन्सनको आत्मघाति गोलसंगै बायर्न खेलमा अघि बढ्यो। बैकल्पिक खेलाडी मसाया ओकुगावाको गोलसंग साल्जबर्गले खेल बराबरीमा ल्याएको थियो। त्यसपछि बायर्नले लगातार चार गोल गर्यो। जेरोम बोटेङ्गले हेड गोलमार्फत बायर्नलाई खेलमा अघि बढाए। कर्नरबाट प्राप्त बललाई बोटिङ्गले हेडमार्फत पोस्टको दिशा दिएका थिए।
लिरो साने, लेवान्डोस्की र लुकास हर्नान्डेजले बायर्नका लागि थप एक एक गोल गरे। साविक विजेता बायर्नले यस सिजन समेत सुरुवाती तीनै खेलमा जित निकालेको छ। उसले दोस्रो स्थानको एट्लेटिको मड्रिडसंग ५ अंकको अग्रता लिएको छ। स्पेनिस क्लब एट्लेटिकोले मंगलबार रातिनै भएको अर्को खेलमा लोकोमोटिभ मस्कोसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो।
बायर्नले नोभेम्बर २५ मा साल्जबर्गविरुद्ध घरेलु मैदानमा जित निकालेको खण्डमा जर्मन क्लब च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गर्नेछ। समूह एमा शीर्ष स्थानको बायर्नको ९ अंक छ। दोस्रो स्थानको एट्लेटिकोको ४ अक छ। मस्को क्लबको २ र पुछारको साल्जबर्गको १ अंक छ। एजेन्सी


























