बागलुङ, कार्तिक १७ । कोरोना संक्रमित बढेपछि जिल्ला संकट व्यवस्थापन समितिले बागलुङ नगरपालिकाको वडा नम्बर १ देखि ४ सम्मका मुख्य बजारमा एक साताका लागि लकडाउन गरेको छ। सोमबार बसेको सर्वपक्षिय र जिल्ला संकट व्यवस्थापन समितिले सुरक्षा समितिलाई निषेधाज्ञा लगाउन पनि सिफारिस गरेको छ।
सदरमुकाम आसपासका सबै आइसोलेसन भरिएर होम आइसोलेसनमा समेत संक्रमित राख्नु परेपछि बागलुङ नगरपालिकाले पनि निषेधाज्ञा जारी गरिदिन प्रशासनलाई सिफारिस गरेको थियो। बागलुङ उद्योग वाणिज्य संघले निवेदन लेखेर प्रशासन र नगरपालिकालाई लकडाउन गराउन आग्रह गरेका थिए।
समितिको तथ्यांक अनुसार जिल्लामा १ सय ७० सक्रिय संक्रमित छन्। तीमध्ये सबैभन्दा बढी बागलुङ नगरपालिकामा मात्रै १ सय २१ सक्रिय संक्रमित छन्। जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार अहिले सम्म ९ हजार ७ सय ४३ जनाको पीसीआर गरिएको छ। तीमध्ये अझै ३ सय ९४ जनाको रिपोर्ट आउन बाँकी छ। संक्रमित मध्ये ४८ जना होम आइसोलसनमा छन्।


























