कार्तिक १६ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (आइतबार) दुई ठुला क्लब म्यानचेस्टर युनाईटेड र आर्सनलबीच प्रतिस्पर्धा हुँदैछ। युनाईटेडले घरेलु मैदानमा आर्सनलसँग खेल्नेछ। युनाईटेड र आर्सनलबीचको खेल नेपाली समय अनुसार राति सवा १० बजे सुरु हुनेछ। ओल्ड ट्राफोर्डमा दुबै टिम जित निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछन्।
युनाईटेड ५ खेलमा ७ अंक जोडेर १५ औं स्थानमा रहेको छ। आर्सनल हराएर युनाईटेड सिजनको तेस्रो जित निकाल्न चाहन्छ। तर, आर्सनलविरुद्ध युनाईटेडका डिफेन्डर एलेक्स टेलस र फरवार्ड एन्थोनी मार्सियलले खेल्ने छैनन्। युनाईटेडविरुद्ध मैदान उत्रदा आर्सनल भने चौंथो जितको खोजीमा हुनेछ। आर्सनल ६ खेलमा ९ अंक जोडेर तालिकाको १२ औं स्थानमा रहेको छ।
आर्सनलका डिफेन्डर डेभिड लुइजले युनाईटेडसँगको खेल गुमाउने छन्। लिग अन्तर्गत नै अर्को खेलमा एभर्टनले न्युकासल युनाईटेडसँग खेल्नेछ। १३ अंक जोडेको एभर्टन जित निकाल्दै शीर्ष स्थानमा उक्लने योजनामा हुनेछ।
यस्तै टोटेनहमले घरेलु मैदानमा ब्राइटनसँग खेल्नेछ। साउथह्याम्पटनले एस्टन भिल्लासँग खेल्नेछ। एजेन्सी


























