कार्तिक १६ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले अझै लय समाउन सकेको छैन। शनिबार राति बार्सिलोनाले १० खेलाडीमा सीमित आल्भेससंग पनि १–१ गोलको बराबरी खेल्दै अंक बाँढेको छ। खराब प्रदर्शनबाट गुज्रिएको बार्सिलोना स्पेनिस लिगको पछिल्ला चार खेलमा जितबिहिन छ।
तालिकाको १५औं स्थानको आल्भेसका लुईस रोजाले घरेलु टोलीलाई अघि बढाएका थिए। आल्भेसका मिडफिल्डर जोटा ६२औं मिनेटमा दोहोरो पहेलो कार्ड खाँदै मैदान छाडेका थिए। ६३औं मिनेटमा एन्टोनी ग्रिजम्यानले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । तर, बार्सिलोनाले १० खेलाडीमा सीमित आल्भेसमाथि जित निकाल्न भने सकेन।
च्याम्पियन्स लिग फुटबलको पछिल्लो खेलमा युभेन्ट्सविरुद्ध जित निकालेको बार्सिलोना स्पेनिस लिगमा लिग लिडर रियल मड्रिड भन्दा ८ अंकले पछि छ। बार्सिलोना ८ अंक सहित १२औं स्थानमा छ। आल्भेस समान अंक जोड्दै १३औं स्थानमा छ। एजेन्सी




















