कञ्चनपुर, कार्तिक १५ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले महाकाली नगरपालिकाको दोधारा चाँदनीमा सुक्खा बन्दगाह निर्माणको कार्य युद्धस्तरमा अगाडि बढ्ने बताएका छन्। कैलालीको गोदावरी नगरपालिकास्थित निवासमा आज कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भारतसँग अन्तिम छलफल गरी हस्ताक्षर भएपछि निर्माणका लागि बोलपत्र प्रक्रियामार्फत अगाडि बढाइने बताए।
“दोधारा चाँदनीको कञ्जभोजमा सुक्खा बन्दरगाह निर्माणका लागि भारतको वन क्षेत्र मात्रै १२ किलोमिटर बढी पर्ने भएकाले भारतले सहमति गर्न मानेन,” उनले भने, “मायापुरीमा सुक्खा बन्दगाह बनाउन भारत सहमत भएको छ। कञ्चभोगमा बस्ती हटाउनुपर्ने थियो। यता बस्ती पनि हटाउनु पर्दैन। बन्दगाह निर्माणका लागि आवश्यक एक हजार बिघा जग्गासमेत छ, यो नै बन्दगाह निर्माणका लागि अन्तिम निर्णय हो।”
महाकाली नदीमा बन्न लागेको ६ लेनको पुलनजिकैको क्षेत्रमा बन्दगाह निर्माण हुने उनले बताए। सुक्खा बन्दगाहसँग जोडिएको क्षेत्रलाई ‘क्रसबोर्डर इकनोमिक करिडोर’का रूपमा विकास गर्ने लक्ष्य रहेको उनले उल्लेख गरे।
भारतको नयाँदिल्ली नजिक पर्ने भएकाले छोटो मार्गका रूपमा समेत रहेको चर्चा गर्दै उनले ‘एसियन हाइवे’सँग यस क्षेत्रलाई जोड्ने योजनासमेत रहेको बताए। भारतले चक्रपुर हुँदै गडीकोटको भैसाभोज हुँदै पहुँच मार्ग (कनेक्टिभ) दिने भएपछि महाकाली नगरपालिका १ को गौरी सामुदायिक वन क्षेत्रमा सुक्खा बन्दरगाहका लागि प्रक्रिया अघि बढाइन लागेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भट्टले गौरी सामुदायिक वनमा स्थलगत निरीक्षणसमेत गरेका छन्।रासस


























