कार्तिक १५ । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (शनिबार) हुने पहिलो खेलमा दिल्ली क्यापिटल्सले साविक विजेता मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्दैछ। नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्लीले दुबईमा मुम्बईसँग खेल्नेछ। दिल्ली र मुम्बईबीचको खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्ली आठौं जितको खोजीमा हुनेछ। १२ खेलमा ७ जितसहित १४ अंक जोडेर दिल्ली तेस्रो स्थानमा रहेको छ। श्रेयस एयरको कप्तानीमा मैदान उत्रने दिल्ली मुम्बईलाई हराएर प्ले अफमा पुग्न चाहन्छ। प्ले अफ पुग्न दिल्लीलाई मात्र एक जितको खाचो रहेको छ। यस्तोमा दिल्ली मुम्बईलाई शिकार बनाउन चाहन्छ।
यस सिजन सन्दीपले दिल्लीबाट खेल्ने मौका पाएका छैनन्। दिल्लीले सन्दीपलाई यस अघिको १२ खेलमा बेञ्चमा राखेको थियो। दिल्ली अघिल्लो भेटमा ब्यहोरेको हारको बदला लिन चाहन्छ। सिजनको पहिलो भेटमा दिल्लीलाई मुम्बईले ५ विकेटले हराएको थियो।
मुम्बई भने यस अघि नै प्ले अफ पुगिसकेको छ। शीर्ष स्थानको मुम्बईले १२ खेलमा १६ अंक जोडेको छ। तर, केइरन पोलार्डको कप्तानीमा मैदान उत्रने मुम्बई दिल्लीलाई हराएर सिधै क्वालिफायर खेल्न चाहन्छ।
शीर्ष दुई स्थानमा रहने टोलीले क्वालिफायर खेल्ने छन्। अब एक खेल जितेमा मुम्बईको शीर्ष दुई पक्का हुनेछ। चोटका कारण मुम्बईका नियमित कप्तान रोहित शर्मा मैदान उत्रने सम्भावना कम रहेको छ। एजेन्सी


























