कार्तिक १४ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (शुक्रबार) उल्भ्सले क्रिस्टल प्यालेससँग प्रतिस्पर्धा गर्दैछ। उल्भ्सले घरेलु मैदानमा क्रिस्टलको सामना गर्ने छ। उल्भ्स र क्रिस्टलबीचको खेल नेपाली समय अनुसार राति पौने २ बजे सुरु हुनेछ।
घरेलु मैदानमा उल्भ्स चौंथो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ। उल्भ्सले ६ खेलम १० अंक जोडेको छ। उल्भ्स तालिकाको नवौं स्थानमा रहेको छ। तर, घरेलु मैदानमा क्रिस्टललाई हराए उल्भ्स शीर्ष तीन भित्र उक्लने छ। क्रिस्टलविरुद्ध मैदान उत्रदा उल्भ्सका विङ्ग ब्याक जोनी टिममा हुने छैनन्। तर, एडमा त्राओरे, जोआ मौटिन्हो र मार्कल सुरुवाती-११ मा फर्कने छन्।
यता, क्रिस्टल पनि घरेलु टोलीलाई हराएर चौंथो जित निकाल्न चाहन्छ। क्रिस्टल ६ खेलमा १० अंक जोडेर तालिकाको आठौं स्थानमा रहेको छ। क्रिस्टल उल्भ्सलाई हराएर शीर्ष स्थानको एभर्टनसँग अंक बराबरी गर्ने चाहन्छ।
तर, क्रिस्टलका डिफेन्डर मिचेल र जोएल वार्डले चोटका कारण उल्भ्ससँगको खेल गुमाउने छन्। उल्भ्सविरुद्धको खेलमा क्रिस्टल हाबी हुँदै आइरहेको छ। तर, गत जुलाईमा भएको पछिल्लो भेटमा भने उल्भ्सले क्रिस्टललाई २-० ले हराएको थियो।


























