कार्तिक १४ । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (शुक्रबार) किङ्स इलाभेन पन्जाब र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। प्ले अफ दौडमा रहेका पन्जाब र राजस्थानले आबुधाबीमा खेल्नेछ। पन्जाब र राजस्थानबीचको खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ।
शेख जायद क्रिकेट स्टेडियममा पन्जाब सातौं जितको खोजीमा हुनेछ। पन्जाब १२ खेलमा १२ अंक जोड्दै तालिकाको चौंथो स्थानमा रहेको छ। केएल राहुलको कप्तानी मैदान उत्रने पन्जाब राजस्थानलाई हराएर प्ले अफ यात्रा बलियो बनाउन चाहन्छ। पछिल्लो खेलमा पन्जाबले उत्कृष्ट प्रदर्शन गरिरहेको छ।
यस्तै पन्जाब राजस्थानसँग अघिल्लो खेलमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ। यस अघिको भेटमा पन्जाबलाई राजस्थानले ४ विकेटले हराएको थियो। स्टिभ स्मिथको कप्तानीमा रहेको राजस्थानलाई भने पन्जाबविरुद्धको खेल महत्वपूर्ण रहेको छ। प्ले अफको गणितीय सम्भावना कायम राख्न पनि राजस्थानलाई जितको विकल्प छैन। १२ खेलमा १० अंक जोडेको राजस्थान सातौं स्थानमा रहेको छ।
यस सिजनको आईपीएलमा साविक विजेता मुम्बई प्ले अफ पुगिसकेको छ। यस्तै साविक उपविजेता चेन्नई सुपर किङ्स भने प्ले अफ होडबाट बाहिरिएको छ। एजेन्सी


























