काठमाडौं, कार्तिक १३ । भियतनाममा मोलेभ तूफान र त्यसपछि आएको बाढी र पहिरोमा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ। भियतनाममा आएको मोलेभ तूफानपछिको अविरल वर्षापछि क्वाङ नामको ग्रामीण क्षेत्रमा आएको पहिरोको कारण १३ जनाको मृत्यु भएको छ। साथै पहिरोा थप ४० जना हराइरहेका छन्। स्थानीय सञ्चारमाध्यमहरुका अनुसार तूफानको समुद्रमा १२ जना माझीको मृत्यु भएको छ।
भियतनामका उपप्रधानमन्त्री ट्रिन डिङ डुङले खराब मौसमको कारण उद्धार कार्यमा समस्या भइरहेको बताए। उनका अनुसार भियतनामले उद्धारको लागि सयौंको संख्यामा प्रहरी खटाएको छ।
स्थानीय टेलिभिजनले बिहीबार उल्लेख गरे अनुसार तुफानको कारण समुद्रमा हराएका १२ जना माझीको शव फेला परेको छ। थप १४ जना हराइरहेका छन्। अक्टोबरयता तूफान, भारी वर्षा र बाढीको कारण १० लाखभन्दा धेरै मानिसहरु प्रभावित भइसकेका छन्।
भियतनामको सरकारले दिएको जानकारीअनुसार तूफानको कारण १० लाखभन्दा धेरै मानिसहरु बिजुलीबाट बत्तिचत भएका छन् भने ५६ हजार घरहरु ध्वस्त भएका छन्। भियतनामको मौसम विभागका अनुसार शनिबारसम्म ७०० मिलिलिटरसम्म वर्षा जारी रहनेछ। एजेन्सी


























