काठमाडौं, कार्तिक १२ । यहि १५ गतेबाट बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक स्थगित हुन सक्ने आशंका नेताहरुले गरेका छन्।
बैठकका एजेण्डा निर्माणमा भइरहेको ढिलाइ र कोभिडका कारण बैठक स्थगित हुन सक्ने नेताहरुको भनाई छ। अहिलेसम्म कुनै सार्वजनिक सूचना नभएपनि बैठकको तयारी हेर्दा स्थगित हुन सक्ने नेताहरुको भनाई छ।
अनिश्चित बनेको छ। भदौ २६ गतेको स्थायी समिति बैठकले कात्र्तिक १५ बाट १७ सम्मका लागि बोलाएको बैठक अनिश्चित बनेको हो। अहिलेसम्म बैठक स्थगित हुने बारे सार्वजनिक नभएपनि तयारीको अवस्था हेर्दा बैठक बस्न नसक्ने संकते नेताहरुले गरेका छन्। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिलेको अवस्थामा बैठक बस्न नसक्ने संकेत गरे।
स्थायी समिति बैठकले असोज महिनाभित्र पार्टी एकतका बाँकी काम सक्ने, मंसिर भित्र सदस्यता नवीकरण लगायतका काम सक्ने भनेपनि निर्णयअनुसार कामहरु हुन सकेका छैनन्।
नेकपा स्थायी समिति सदस्य लीलामणी पोखरेलले बैठकको तयारी नै नभएकाले बस्न नसक्ने बताए। महाधिवेशन केन्द्रित बैठक भएकाले सम्पूर्ण तयारी अहिलेसम्म पुरा हुनुपर्नेमा त्यसो हुन नसकेको उनले बताए।
ठूलो संख्यामा केन्द्रिय सदस्य भेला हुनुपर्ने अवस्था रहेकोले कोभिड संक्रमणको जोखिमका कारण पनि बैठक बस्ने सम्भावना नरहेको उनले बताए। आगामी चैतमा हुने भनिएको महाधिवेशन पनि तोकिएको समयमा हुन नसक्ने उनले बताए।


























