काठमाडौं, कार्तिक ११ । नेपाली राष्ट्रिय फुटबल टिमले बिहीबारबाट प्रशिक्षण सुरु गर्ने भएको छ। बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले बिहीबारबाट प्रशिक्षण सुरु गर्ने भएको हो। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबारबाट नेपाली टोलीले तयारी थाल्ने जनाएको छ।
प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एन्फालाई अनुमति दिईसकेको छ। एन्फाले सबै खेलाडीहरु बुधबारसम्म काठमाडौं आईपुग्ने समेत जनाएको छ। नेपालले बाल गोपाल महर्जनको नेतृत्वमा तयारी सुरु गर्नेछ। मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमा रहेको कारण एन्फाले महर्जनलाई टिम हेर्ने जिम्मेवारी दिएको हो। कोरोना भाईरसको महामारीको कारण स्विडेन सरकारले भ्रमणमा कडाई गरेपछि कालिन नेपाल फर्कन नपाएको एन्फाले जनाएको छ।
यस्तै टिमको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा विकास मल्ल रहेका छन्। नेपालले बंगलादेशसँग ढाकामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ। ढाकास्थित बंगबन्धु रंगशालामा हुने पहिलो मैत्रीपूर्ण खेल कात्तिक २८ गते हुनेछ। दोस्रो मैत्रीपूर्ण मंसिर २ गते हुनेछ।
फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो। नेपालले साफ च्याम्पियनसिपपछि बंगलादेशसँग खेलेको छैन। २०७५ सालको भदौंमा ढाकामा भएको साफको समूह चरणमा नेपालले बंगलादेशलाई २-० ले हराएको थियो।


























