चितवन, कार्तिक ६ । चितवनमा तीन लाख २१ हजार रुपैयाँ नक्कली नोटका एकजना कारोबारीलाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले आज मकवानपुर राक्सीराङ गाउँपालिका ८ का जितबहादुर लोप्चनलाई सार्वजनिक गरेको हो। प्रहरीले एक हजार रुपैयाँको १२ थान नक्कली नोटसहित उनलाई पक्राउ गरेको हो। उनलाई राप्ती नगरपालिका ५, चौकीडाँडाबाट पक्राउ गरिएको थियो।
प्रहरीले थप अनुसन्धान गर्ने क्रममा उनको घरमा समेत केही जाली नोट लुकाइराखेको अवस्थामा निजको घर मकवानपुर राक्सिराङ गाउँपालिका ८ स्थित घरमा प्लास्टिकले बेरी लुकाइराखेको अवस्थामा थप तीन लाख दुई हजार रुपैयाँ नक्कली नोट बरामद गरेको थियो।
थप अनुसन्धान गर्ने क्रममा उनले भण्डारामा रहेको युनिक होटललाई खाजा खाएबापत एक हजार रुपैयाँ र बर्तौला किराना पसलबाट खाद्यान्न किनेबापत ६ हजार रुपैयाँ दिएको बताएपछि उक्त रकम पनि प्रहरीले बरामद गरेको जनाएको छ। लोप्चन लामो समयदेखि गाँजा र नक्कली नोट कारोबारमा संलग्न देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। लोप्चनको बयान र प्रहरीको अनुसन्धानका आधारमा उनीसँग कारोबार गर्ने दुई जनाको खोजी भइरहेको छ।


























