काठमाडौं, कार्तिक ६ । बिहीबारदेखि नेपाल राष्ट्र बैंकले २० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको छ। बैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभागले सूचना सार्वजनिक गर्दै नयाँ नोट आजदेखि बजारमा सार्वजनिक हुने जानकारी दिएको हो।
२० रुपैयाँको नयाँ नोट साबिककै आकार, रंगको हुनेछ। बार्हसिङ्गेको चित्र रहेको २० रुपैयाँको नयाँ बिहीबारबाट चलनचल्तीमा आउन लागेको हो।
राष्ट्र बैंकका अनुसार नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, तत्कालीन गभर्नर डाक्टर चिरन्जीवी नेपालको दस्तखत तथा तल्लो भागको बोर्डरमा सिरिज नम्बर नेपालीमा वि.सं. २०७६ लेखिएको हुनेछ।
त्यसैगरी पृष्ठ भागमा नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा NEPAL RASTRA BANK लेखिएको हुनेछ भने मध्य भागमा बार्हसिङ्गेको चित्र हुन्छ। नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा RUPEES TWENTY लेखिएको छ।
राष्ट्र बैंकका अनुसार यो नयाँ नोटमा सिरिज नम्बर अंग्रेजीमा 2020 A.D. समेत लेखिएको छ। यसअघि पहिलेका नोटमा सिरिज नम्बर भए पनि साल समेटिएको थिएन।


























