काठमाडौं, कार्तिक ३ । मोबाइल र विद्युतीय माध्यममा सोमबार एउटा संवेदनशील म्यासेज भाईरल भएको छ। ‘सुरक्षाको कारण संकटकाल र कफ्र्यु लाग्ने’ सूचना सार्वजनिक भएपछि गृह मन्त्रालयले सो म्यासेजलाई ‘गम्भीर’ भनेको छ।
गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) चक्रबहादुर बुढाले विज्ञप्ति निकालेर ‘सुरक्षा संवेदनशील विषय जोडेर संकटकाल, कर्फ्यू लाग्ने भन्ने सूचना सम्प्रेषित गरेकोमा मन्त्रालयको ध्यानाकर्षण भएको’ बताएका छन्।
मोबाइल र सामाजिक सञ्जालमा प्रेशित गरिएको सो सूचना तथ्यहिन, भ्रामक र गलत भएको मन्त्रालयले जनाएको छ। घटनालाई गम्भीरतापूर्वक लिएर आवश्यक अनुसन्धान प्रक्रिया शुरु गरिएको गृह प्रवक्ता बुढाले विज्ञप्तीमार्फत जानकारी दिएका छन्।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो र साइबर ब्यूरोले यसबारे अनुसन्धान शुरु गरेका छन्। मोबाइलमा पिएससी युजरबाट ‘ग्रुप मेसेज’आएपछि सो सूचना भाइरल भएको छ। सूचनामा आपतकालिन अवस्था आएकोले कफ्र्यु लगाएको र सशस्त्र प्रहरीले एयर ट्राफिक मनिटर गरेर सम्भावित चुनौती साम्य पार्न पार्न लडिरहेको उल्लेख छ।


























