काठमाडौं, कार्तिक ३ । नेपालीहरुको महान चाड विजया दशमीको आज तेस्रो दिन हो। दशैं मनाउन देश, विदेशबाट घर फर्किनेको यो लर्को लाग्ने सिजन हो।
विदेशबाट होस वा शहरबाट होस यतिबेला सबैजसो मानिस गाउँ फर्किने बेला हो। एक वर्षसम्म गाउँ फर्किन नपाएकाहरु दशैं मनाउन गाउँ फर्किने चलन हुन्छ। दशैं भनेको पारिवारिक मिलनको राम्रो अवसर पनि हो।
तर कोरोना महामारीका कारण पोहोर सालको जस्तो दशैं यो वर्ष नहुने देखिएको छ। विदेशमा भएका मानिस कोरोनाका कारण उतै अड्किएका छन् भने शहरमा मानिस पनि गाउँ जान पाएका छैनन्। अझ सरकारले जो जहाँ छ त्यही दशैं मनाउन आग्रह गरेपछि शहरबाट गाउँ फर्किनको संख्या निकै कम छ।
असोज एक गतेदेखि कात्तिक तीन (आज) सम्म ६ लाख २३ हजार ९४४ जनाले मात्रै उपत्यका छोडेका छन्। एक महिनाको अवधिमा ६ लाख २३ हजारले मात्रै काठमाडौं छोड्नुले कोरोना कहरले दशैं प्रभावित भएको अनुमान लगाउन थालिएको छ।
महानगरीय ट्राफिक महाशाखाकाका अनुसार एक महिनाको एक महिनाको अवधिमा १ लाख ४३ हजार ७४१ सवारी साधनमार्फत ६ लाख ४४ हजार ६४६ यात्रु बाहिरिएका हुन्।
यही अवधिमा काठमाडौं उपत्यका भित्रिने यात्रुको संख्या उल्लेख्य रहेको छ। यो एक महिनाको अवधिमा पाँच लाख ७० हजार ८१३ यात्रु काठमाडौं भित्रिएका महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता एसपी रामेश्वरप्रसाद यादवले जानकारी दिए।
‘गत वर्ष २४ लाख मानिसले काठमाडौं छाडेका थिए,’ एसपी यादवले डिसी नेपालले भने, ‘गत वर्ष एकै दिन ४ लाख २३ हजार यात्रु एकै दिन बाहिरिएका थिए। अहिले त्यो संख्या पुग्न झण्डै एक महिना लाग्यो।’
चैतमा लकडाउन सूरुभएपछि धेरै मानिस उपत्यकाबाट बाहिरिएका र उनीहरु नर्फिएका कारण काठमाडौंबाट बाहिरिनेको संख्या कम भएको ट्राफिक प्रहरीले अनुमान लगाएको छ।


























