चितवन, कार्तिक ३ । चितवनमा बडा दशैंको बेलामा कोरोना परीक्षणको कामलाई नरोक्ने गरी तयारी गरिएको छ। स्वास्थ्य कार्यालय चितवनमा आइतबार बसेको जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्रको बैठकले दशैंको मुख्य तीन दिन अष्टमी, नवमी र दशमीमा आलोपालो ल्याबहरु खोलेर कोरोना परीक्षण गर्ने निर्णय गरेको छ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीले दिएको जानकारी अनुसार अष्टमीको दिनमा भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशाला, नवमीको दिन चितवन मेडिकल कलेजको प्रयोगशाला र दशैंको टीकाको दिन क्यान्सर अस्पतालको प्रयोगशाला सञ्चालन गरिने छ। चितवनमा तीनवटा अस्पतालले कोरोना परीक्षण गर्दै आएका छन्।
साथै बैठकले दशैंको बेलामा सबै स्थानीय तहमा स्टाण्डबाई रहने एम्बुलेन्सहरूको सूचीसमेत सार्वजनिक गर्ने निर्णय गरेको तिवारीले बताए। अस्पतालहरुमा हाल चलिरहेका कुनै पनि सेवालाई नरोक्ने गरी जनशक्तिको विन्यास र व्यवस्थापन गर्न अस्पतालहरूलाई भनिएको छ।


























