कार्तिक ३ । कोरोना महामारीकाबीच भारतका केही राज्यमा विद्यालय र रेल सञ्चालन गरिने भएको छ। पञ्जाब, उत्तर प्रदेश, हिमाञ्चललगायतका केही प्रदेशमा कोरोना महामारीले ७ महिनाअघि बन्द गरिएका विद्यालय तथा रेल सेवा आज सुरू गर्न लागिएको छ।
मुम्बईमा बिहान साढे ८ देखि बेलुका साढे ८ बजेसम्म रेल सञ्चालनको अनुमति दिइएको छ। तर, यात्रुले अनिवार्य स्वास्थ्य मापदण्डका नियमहरू पालना गर्नुपर्नु छ। स्वास्थ्य मापदण्ड र सुरक्षा सावधानीका सर्तसहित विद्यालयहरू पनि खुल्न लागेका छन्।
उत्तर प्रदेशमा ५० प्रतिशत विद्यार्थीलाई एक दिन र बाँकीलाई अर्को दिन बोलाएर अध्ययन गराइए पनि विद्यार्थीहरुलाई विद्यालय जानै पर्ने अनिवार्य गरिएको छैन। पञ्जाबमा विद्यालयहरु दैनिक ३ घण्टा मात्र खुल्नेछन्। एउटा सिटमा एक जना मात्र विद्यार्थीलाई बसाइने छ। हिमाञ्चल प्रदेशमा पनि कक्षा १० र कक्षा १२ का विद्यार्थीलाई विद्यालयमा आएर अध्ययन गर्न खुला गरिँदैछ।
सिक्किममा पनि आजैबाट पठनपाठन थालिने भएको छ। जाडोको र शनिबारको विदा पनि कटाएर नयाँ शैक्षिक क्यालेन्डर बनाएसँगै सिक्किम पठनपाठन नियमित हुन लागेको हो। एजेन्सी


























