कार्तिक २ । इरानमा कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि लकडाउन लम्ब्याउने भएको छ। शनिबार इरानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० हजार नाघेसँगै इरानले राजधानी सहर तेहरानमा लगाइएको लकडाउन तेस्रो सातामा लम्ब्याउने निर्णय भएको हो।
विद्यालय, रेष्टुरेन्ट, पसल, रेष्टुरेन्ट र अन्य सार्वजनिक संस्थाहरुमा कोरोना संक्रमण बढी देखिएसँगै यी क्षेत्रहरु अक्टोबर ३ यता बन्द छन्। यो प्रतिबन्ध कम्तीमा आगामी शुक्रबारसम्मका लागि लम्ब्याइने तेहरान प्रान्तका गभर्नर अनोउशिरवन मोहसेनी बन्डपीले बताएका हुन्।
इरानको स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार इरानमा कोरोनाका २५३ मृतक थपिएका थिए। यससँगै इरानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० हजार १२३ पुगेको छ। त्यस्तै कोरोना संक्रमितको संख्या पनि पाँच लाख २६ हजार नाघेको छ।
अहिले इरानमा कोरोना संक्रमण तेस्रोपटक बढेको छ। इरानले अमेरिकाले लगाएको प्रतिबन्धको कारण मुलुकको कोरानो नियन्त्रणको लडाइँमा असर परेको बताएको छ। एजेन्सी


























