कार्तिक १ । अजरबैजान र आर्मेनियाबीच हालैमात्र युद्धविराम गर्ने र विवाद समाधान गर्ने विषयमा सहमति भएको थियो। तर सम्झौता भएको केहीदिनमै दुवै देश पुनः युद्धमा होमिएका छन्। अधिकारीहरुका अनुसार अजरबैजान र आर्मेनियाबीचको युद्धमा शनिबार क्षेप्यास्त्र प्रहार भएको छ। क्षेप्यास्त्रले घरहरुमा लाग्दा शनिबार १२ जनाको मृत्यु हुनुको साथै ४० जना घाइते भएको बताइएको छ।
नागोर्नो–काराबाख क्षेत्रको स्वामित्वको विषयलाई लिएर यतिबेला दुई देशबीच युद्ध भड्किएको हो। शनिबार अजरबैजानको गाजा र मिनगिसिभर भन्ने क्षेत्रमा आर्मिनियाको भूमिबाट क्षेप्यास्त्र प्रहार भएको भोइस अफ अमेरिकाले जनाएको छ।
अजरबैजानको रक्षामन्त्रालयका अनुसार आर्मिनियाको दुई क्षेत्रबाट क्षेप्यास्त्रहरु प्रहार भएका हुन्। आर्मिनियाबाट क्षेप्यास्त्र प्रहार हुँदा २० घर ध्वस्त बनेको बताइएको छ। गत सेप्टेम्बर २७ यता जारी द्वन्द्वमा ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ।


























