असोज ३० । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (शुक्रबार) साविक विजेता मुम्बई इन्डियन्स र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ। अबुधाबीमा मुम्बई र कोलकत्ता आठौं खेलका लागि मैदान उत्रन लागेका हुन् । मुम्बई र कोलकत्ताबीचको खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ।
शेख जायद क्रिकेट स्टेडियममा मुम्बई छैटौं जितको खोजीमा हुनेछ। अघिल्ला ७ खेलमा ५ जितसहित १० अंक जोडेर मुम्बई दोस्रो स्थानमा रहेको छ। रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई कोलकत्तालाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ। तर, दिनेश कार्तिकको कप्तानीमा मैदान उत्रने कोलकत्ताविरुद्ध जित निकाल्न मुम्बईलाई कठिन भने हुनेछ।
कोलकत्ता पाँचौं जितको खोजीमा रहेको छ। कोलकत्ताले ७ खेलमा ८ अंक जोडेको छ र चौंथो स्थानमा रहेको छ। कोलकत्ता मुम्बईलाई हराएर शीर्ष टोलिसँगको अंक दुरी कम गर्न चाहन्छ। यस्तै कोलकत्ता मुम्बईसँग पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ। सिजनको पहिलो भेटमा मुम्बईले कोलकत्तालाई ४९ रनले हराएको थियो।
मुम्बईले कोलकत्ताविरुद्ध कप्तान रोहितसँगै क्विन्टन डी कक, केइरन पोलार्ड, हार्दिक पाण्डय, ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह लगायतका खेलाडी मैदान उतार्ने छन्। कोलकत्तालाई दिनेशसँगै आन्द्रे रसेल, इयान मोर्गन, आन्द्रे रसेल,कुलदिप यादव, पाट कुमिन्स जस्ता खेलाडीको साथ रहने छ। एजेन्सी


























