मुम्बई, असोज ३० । बलिवुड अभिनेता संजय दत्त क्यान्सरसँग लडिरहेका छन्। ६१ बर्षिय अभिनेता संजय क्यान्सरसँगको लडाई लडिरहेका बेला आफ्नो रोग बारे एक भिडियो जारी गरेर चर्चा गरेका छन्। भिडियोमा संजय दत्तले आफुले क्यान्सरलाई हराउने विश्वास व्यक्त गरेका छन्।
हेयर स्टाइलिस आलिम हकीमले आफ्नो इन्स्टाग्राममा शेयर गरेको भिडियोमा संजयले आफुले क्यान्सरलाई जित्ने बताएका छन्। उनले भनेका छन्- ‘म छिट्टै यसबाट मुक्त हुने छु। लकडाउनपछि फेरी काम शुरु गर्न लागेको छु। यसमा म धेरै खुशी छु। मैले अहिले केजीएफ-२ का लागि तयारी गरिरहेको छु। फेरी सेटमा जान पाएर खुशी छु।’
संजयले आफ्नो उपचारको एक फेज सकेर परिवारसँग केहि साता अघि दुबई गएका थिए। उनको उपचार हाल मुबाईस्थित धीरुभाई अम्बानी अस्पतालमा चलिरहेको छ। उनले गत अगस्त ११ मा सामाजिक संजालमा एक भिडियो पोष्ट गर्दै केहि समयका लागि उपचारका लागि कामबाट ब्रेक लिन लागेको बताएका छन्।
मिडिया रिपोर्टका अनुसार उनको कीमोथेरापीको नतिजा सकरात्मक रहेको छ। संजयले अहिले फिल्म शमशेरा, भुज, केजीएफ, पृथ्वीराज र तोरबाज जस्ता फिल्ममा काम गरिरहेका छन्। एजेन्सी


























