असोज २८ । यूईएफए नेसन्स लिग फुटबलमा आज (बुधबार) राति इंग्ल्यान्ड र डेनमार्कबीच प्रतिस्पर्धा हुँदैछ। समूह चरण अन्तर्गतको चौंथो खेलमा इंग्ल्यान्ड र डेनमार्क भिड्न लागेका हुन्। इंग्ल्यान्डमा हुने दुई टोलिबीचको खेल नेपाली समय अनुसार राति साढे १२ बजे सुरु हुनेछ। वेम्बली स्टेडियममा इंग्ल्यान्ड तेस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ। इंग्ल्यान्डले अघिल्ला ३ खेलमा २ जित र १ बराबरी खेलेको छ।
लिग ‘ए’ समूह २ मा रहेको इंग्ल्यान्ड ७ अंक जोडेर तालिकाको शीर्ष स्थानमा रहेको छ। इंग्ल्यान्डले पहिलो खेलमा आइसल्याण्डलाई १-० ले हराएको थियो । दोस्रो खेलमा इंग्ल्यान्ड डेनमार्कसँग गोलरहित बराबरीमा रोकिएको थियो। तेस्रो खेलमा भने इंग्ल्यान्डले बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गरेको थियो।
बलियो टिम बेल्जियमलाई हराएको कारण इंग्ल्यान्ड उच्च मनोबलका सतह मैदान उत्रने छ। डेनमार्कको मैदानमा अंक बाडेको इंग्ल्यान्ड घरेलु मैदानमा भने ३ अंक जोड्न चाहन्छ।
यता, डेनमार्क भने दोस्रो जितको खोजीमा हुनेछ। तेस्रो स्थानको डेनमार्कले ३ खेलमा ४ अंक जोडेको छ। डेनमार्क आइसल्याण्डलाई ३-० ले पराजित गर्दा बेल्जियमसँग २-० ले पराजित भएको थियो। यसै समूहको अर्को खेलमा बेल्जियमले आइसल्याण्डसँग खेल्नेछ। बेल्जियम आइसल्याण्डलाई हराएर तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ। ३ खेलमा ६ अंक जोडेको बेल्जियम दोस्रो र अंक विहीन आइसल्याण्ड पुछारमा रहेको छ। एजेन्सी


























