काठमाडौं, असोज २८ । भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवाणे नेपाल भ्रमणमा आउने भएका छन्। नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भाग समेटेर नक्सा जारी गर्दा ‘कूटनीतिक मर्यादा विपरित’ टिप्पणी गरेका भारतीय सेनाध्यक्ष नरवाणे दशैं र तिहारको बीचमा नेपाल भ्रमणमा आउन लागेका हुन्।
नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भाग समेटेर नक्सा जारी गरेको विषयलाई नरवाणेले चीनसँगको मिलेमतोको रुपमा टिप्पणी गरेका थिए। नेपाल र भारतका सेना प्रमुखले एक–अर्को देशका सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्ने कार्यक्रमका लागि सेनाध्यक्ष नरवाणे नेपाल आउन लागेका हुन्।
उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्ने कार्यक्रम तय भइसकेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीकै चाहनामा सेनाध्यक्ष नरवाणेलाई परराष्ट्र मन्त्रालयमार्फत नेपाल भ्रमणको निम्तो दिइएको थियो। नेपाल भ्रमणका क्रममा उनले मुक्तिनाथको दर्शन गर्ने कार्यक्रम समेत तय भएको जनाइएको छ।


























