काठमाडौं, असोज २८ । विभिन्न मन्त्रालयका सचिवहरुले यस वर्ष दशैंको विदा घटस्थापनादेखि दिन सुझाव दिएका छन्। कोरोनाभाइरस संक्रमण फैलिँदै गएपछि उनीहरुले मुख्यसचिव शंकरदास बैरागीलाई भेटेर दशैंको बिदा घटस्थापनादेखि दिन सुझाव दिएका हुन्। मन्त्रालयका कर्मचारीमा समेत संक्रमण देखिन थालेको भन्दै सचिवहरुले कात्तिक १ गते परेको घटनस्थापनादेखि नै बिदा दिन सुझाव दिएका हुन्।
सरकारले तोकेको दशैँ बिदा भने फूलपाती (कात्तिक ७) गतेदेखि एकादशी (कात्तिक ११) सम्म मात्रै छ। तर, एक साता अघिदेखि नै यस वर्ष दशैंको बिदा दिन सचिवहरुले सुझाव दिएका हुन्।
मन्त्रीदेखि विभिन्न मन्त्रालयका कर्मचारी, तथा सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरुमासमेत कोरोना संक्रमण देखिएका बेला सचिवहरुले घटस्थापनादेखि नै सरकारी कार्यालय बन्द गर्न सुझाव दिएका हुन्। यस वर्ष दशैँको टीकाको उत्तम साइत कात्तिक १० गते बिहान १०ः१९ बजे रहेको छ।


























