असोज २८ । विश्वकप छनोटमा ब्राजिलले पेरुमाथि ४–२ को जित निकालेको छ। बुधबार बिहान भएको खेलमा नेयमार प्रेरित ब्राजिलले पेरुविरुद्ध शानदार जित आत्मसाथ गरेको हो। ब्राजिलको जितमा नेयमारले ह्याट्रिक गरे।
खेलमा अग्रता पेरुले छैटौं मिनेटमा आन्द्रे कारिलोको गोलबाट लिएको थियो। २८ औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत खेल बराबरीमा ल्याए। ५९ औं मिनेटमा रेनाटो तापियाले गोल गर्दै पेरुलाई २–१ ले अघि बढाए। त्यसको ५ मिनेटपछि रिचार्डलिसनले ब्राजिलका लागि बराबरी गोल फर्काएका थिए।
बराबरीतर्फ उन्मुख खेलको ८३ औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिलको जितको आधार तयार गरेका थिए। खेल सकिन एक मिनेट बाँकी छदाँ कार्लोस जान्ब्रानो रातो कोर्ड खादै मैदान बाहिरिएपछि पेरु १० खेलाडीमा सिमिति बनेको थियो। दोस्रो हाफको इन्जुरी समयमा नेयमारले ह्याट्रिक पुरा गर्दै ब्राजिललाई शानदार जित दिलाए।
विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले लगातार दोस्रो खेलमा जित निकालेको छ। ब्राजिलले समूह चरणमा २ खेलबाट ६ अंक जोडेको छ। एजेन्सी


























