वाग्मती, असोज २६ । वाग्मती प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयमा दरबन्दीअनुसार कर्मचारी नहुँदा कार्य सम्पादनमा समस्या देखिएको छ। मन्त्रालयका अनुसार विभिन्न पदमा विभिन्न सेवा, समूह र उपसमूह तर्फका गरी कूल ५५ कर्मचारीको दरबन्दी रहे पनि हाल ३४ जनामात्र कर्मचारी कार्यरत छन्। दरबन्दीअनुसार कर्मचारी नहुँदा थोरै कर्मचारीले कार्यालयको सबै काम सम्पादन गनुपर्दा समस्या भएको मन्त्रालयका सूचना अधिकारी राजन पोखरेलले जानकारी दिए।
मन्त्रालयका अनुसार हाल इन्जिनीयरतर्फ विभिन्न सेवा, समूह र उपसमूहमा गरी १६, शाखा अधिकृत तीन, सिनियर डिभिजन इन्जिनीयर (सिभिल) एक र उपसचिव (सामान्य प्रशासन) तर्फ एक गरी कूल २१ कर्मचारी रिक्त छन्।
प्रदेश लोक सेवा आयोगसँग थप कर्मचारीको व्यवस्थापनका लागि माग गरिएको मन्त्रालयले जनाएको छ। यद्यपि तत्कालका लागि करारमा भए पनि केही कर्मचारी माग गर्ने प्रक्रिया अघि बढाइएको मन्त्रालयका सूचना अधिकारी पोखरेलले जानकारी दिए। रासस


























