कुनै समय चितवन साइकल सहरको रुपमा परिचित थियो। दाइजोमा समेत साइकल दिने चलन थियो। भित्री बस्तीहरुमा प्रयाेग भए पनि मुख्य बजार क्षेत्रमा भने केही वर्षयता साइकलकाे प्रयाेग कम हुँदै गइरहेकाे परिप्रेक्षमा काेराेना महामारीकाे त्रासका कारण पनि साइकल प्रयाेगकर्ताकाे संख्या बढ्न थालेकाे छ। तर विश्वव्यापी कोरोना महामारीले पछिल्लो समय मानवीय जीवन शैली नै परिवर्तन गरिदिएको छ। विश्वभरि साइकलको महत्त्व र प्रयोग अझै बढेको छ। सहरलाई प्रदुषणमुक्त राख्न मात्र होइन, भाइरस फैलिनबाट रोक्न पनि साइकल उपयुक्त मानिन्छ। साइकल चलाउँदा भौतिक दुरी कायम हुनुको साथै स्वास्थ्यमा पनि फाइदा पुग्ने स्वास्थ्यकर्मी र स्वयम् साइकल चालकहरु नै बताउँछन्।

आन्तरिक शक्तिका लागि साइकल चलाउँदा राम्रा हुन्छ। शरीरलाई सक्रिय बनाउँछ। साइकलिङले मुटु रोग, डिप्रेशन, मधुमेह, मोटापनजस्ता गम्भीर रोगहरूबाट बचाउन मद्दत गर्दछ। न्यून र मध्यम आयस्तर भएकाहरुका लागि साइकल सवारीसाधन मात्र नभएर जीविकोपार्जनको लागि सहज भएको छ। अझै पनि भित्री गाउँहरुमा घाँस–दाउरा, दूध बोक्न र विद्यालय जान साइकलको बाक्लै प्रयोग छ। शहरी क्षेत्रमा बढ्दो सवारी चापले साइकल लेन विस्तारको आवश्यकता बढाएको छ। साइकल चलाउँदा स्वस्थ हुनुको साथै प्रकृतिसँग पनि नजिकैबाट रम्न पाइने हुँदा साइकल चलाउन मनपर्छ भन्छन्, चितवनका पुराना सञ्चारकर्मी मनोज घिमिरे।
दैनिक क्रियाकलापमा पनि साइकल प्रयोग गर्न सके इन्धन बच्ने र पर्यावरण पनि सफा राख्न सकिने उनी बताउँछन्। ‘स्कूल तथा कलेज जाने नानी-बाबुहरुलाई पनि साइकल चलाउन अभिप्रेरित गर्न सक्यौं भने शारीरीक रुपमा स्वस्थ हुनुको साथै कुलतबाट पनि जोगिन सक्छन्,’ उनी भन्छन्, ‘कुलतमा फसिसकेकाहरुलाई पनि बिस्तारै कम गर्न सकिन्छ।’ आजकल कार्यलय जाँदा पनि साइकलको प्रयोग गर्न थालेको उनले सुनाए। साइकलमा पर्यटकीय ठाँउ घुम्दा उनी निकै आनन्द महसुस गर्छन्।

साइकल आन्तरिक पर्यटन प्रवर्द्वनकाे लागि पनि राम्रो माध्यम हुनसक्छ भन्छिन् ‘एक सपना साइकल र सफा नेपाल’को अभियन्ता रुक्मिणी सापकोटा। दैनिक कृयाकलापको लागि पनि साइकलको प्रयोग गर्नु राम्राे हुने उनी बताउँछिन्। जसले गर्दा स्वास्थ्य त राम्रो हुन्छ नै, वातावरण पनि सफा रहन्छ। बढ्दो सहरीकरणसँगै यातायातका साधनले बजार पूरै अस्तव्यस्त बनेकाे बेला साइकलकाे प्रयाेगले बजारकाे सुन्दरतामा थप टेवा पुग्ने उनकाे बुझाइ छ। साइकलको प्रयोगले पेट्रोलियम पदार्थ खपत पनि कम हुने र सवारी दुर्घटनालाई पनि कम गर्न सकिने हुँदा साइकलकाे प्रयाेगलाई बढावा दिनुपर्ने उनी बताउँछिन्।
‘साइकलको केज्र त बढदो छ, तर हामीले दैनिक कामकाजको लागि पनि साइकललाई प्राथमिकता दिनुपर्ने देखिन्छ,’ उनी भन्छिन्। तर साइकलकाे प्रयाेग कसैकाे लागि रहरकाे माध्यम बनेकाे छ भने कसैका लागि बाध्यता। रोहितकुमार साहलाई भने साइकल नछाेएकाे दिन पेटमा खाना पनि पर्दैन। भर्खरै १३ बर्ष पुगेका उनको दैनिकी साइकल बनाएरै बित्छ। सात कक्षा पढेपछि परिवारको आर्थिक स्थिति कमजाेर भएकै कारण विद्यालय जानबाट उनी बञ्चित भए। र, साइकल बनाउने काममा व्यस्त हुन थाले।

यही कामबाट दैनिक ५०० देखि एक हजार रुपैयाँसम्म कमाइ गर्छन्। ‘कसैले सानो मान्छे भनेर सय, पचास थपेर दिन्छन्,’ उनी भन्छन्। विगत दुई वर्षदेखि उनी साइकलसँगै खेलिरहेका छन्। ‘कामले काम सिकाउँदाे रहेछ,’ उनी भन्छन्, ‘अहिले त अलिअलि मोटरसाइकल बनाउन पनि आँउछ।’ राेहितसँगै बसेर उनकी आमा भने चटपट बेच्छिन्। आमाकाे कमाइलाई उनकाे कमाइले केही सहयाेग मिलेकाे छ र उनकाे परिवार धान्न सजिलाे भएकाे छ।

उमेरले साढे सात दसक पार गरेका छविलाल पाैडेल पनि नियमित साइकल प्रयाेग गर्छन्। मधुमेहकाे समस्या रहेका कारण पनि उनलाई साइकलकाे प्रयाेगले स्वास्थ्यमा थप फाइदा पुगेकाे छ। विगत २५ वर्षदेखि साइकलकाे प्रयाेग गर्दै आएकाे उनी बताउँछन्। पहाडबाट चितवन आएपछि नै हाे उनले साइकल देखेका। पहिलोपटक एक हजार दुईसय रुपैयाँमा चाइनिज फाेनिक्स साइकल किनेर चलाउन शुरु गरेका उनले अहिले पनि साइकल चलाइरहेका छन्। वरपर कहीँकतै जान-आउन, घर-बजार गर्न र घाँस दाउरा गर्नसमेत साइकलकै प्रयोग गर्दै आएका उनी अहिले पनि स्वास्थ्यकै लागि साइकल चलाउने गरेका बताउँछन्।



























