असोज २५ । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (आइतबार) हुने पहिलो खेलमा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा हैदराबाद र राजस्थान आफ्नो सातौं खेलका लागि मैदान उत्रने छन्। हैदराबाद र राजस्थानबीचको खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा डेभिड वार्नरको कप्तानीमा मैदान उत्रने हैदराबाद चौंथो जितको खोजीमा हुनेछन्। अघिल्ला ३ खेलमा हैदराबादले ३ हार र ३ जित निकालेको छ। हैदराबाद ६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ।
राजस्थानलाई हराएर हैदराबाद अंक तालिका सुधार गर्न चाहन्छ। तर, स्टिभ स्मिथको कप्तानीमा मैदान उत्रने राजस्थानलाई हराउँन हैदराबादलाई सहज हुने छैन। राजस्थान पनि हैदराबादलाई हराएर तेस्रो जित निकाल्न चाहन्छ। पुछारबाट दोस्रो स्थानमा रहेको राजस्थानले ६ खेलमा २ जित र ४ हार व्यहोरेको छ।
हैदराबादविरुद्ध राजस्थानले इंग्ल्यान्डका अलराउण्डर बेन स्टोक्सलाई मैदान उतार्ने सम्भावना रहेको छ। घरायसी कारण सुरुवाती खेलहरु गुमाएका स्टोक्स टिमको प्रशिक्षणमा फर्कीसकेका छन्। यस्तै राजस्थानले कप्तान स्मिथसहित डेभिड मिल्नर, जोफ्रा आर्चर, रोबिन उथप्पा, सन्जु सामसन, श्रेयस गोपाल लगायतका खेलाडी मैदान उतार्ने छन्।
हैदराबादले भने कप्तान वार्नरसँगै जोनी बेयर्स्टो, मनिस पाण्डे, केन विलियाम्सन, विजय शंकर, राशिद खान, भुवनेश्वर कुमार, सन्दीप शर्मा लगायतका खेलाडी मैदान उतार्ने छन्। एजेन्सी


























