असोज २५ । नेसन्स लिग फुटबलमा जर्मनीले युक्रेनलाई हराएको छ। शनिबार राति जर्मनीले युक्रेनलाई २–१ ले हराएको हो। विश्वकप फुटबलमा ७ पटक फाइनल पुगेको जर्मनीले नेसन्स लिग फुटबलमा पहिलो जित दर्ता गरेको हो। उसले समूह चरणको सुरुवाती दुई खेलमा बराबरी खेल्दै अंक बाँडेको थियो।
खेलमा अग्रता २० औं मिनेटमा मथायस गिन्टरको गोलमा जर्मनीले लिएको थियो। लियोन गोरेत्र्जकाले ४९ औं मिनेटमा जर्मनीका अग्रता दोब्बर बनाउने काम गरे। घरेलु टोली युक्रेनका रुस्लान मालिनोवस्कीले एक सान्त्वना गोल फर्काए। जर्मनीले दुई वर्ष अघि सुरु नेसन्स लिगमा जित निकाल्न सकेको थिएन। यस संस्करणमा जर्मनीले तीन खेलबाट ५ अंक जोडेको छ। करिब ७० हजार दर्शक क्षमताको रगशालामा ३० प्रतिशत दर्शकलाई प्रवेश अनुमती प्रदान गरिएको थियो।
यस सिजन चेल्सीबाट खेल्न नपाएका डिफेन्डर एन्टोनियो रुडीगरले प्रभावशाली प्रर्दशन गरे। उनले जर्मनीको सुरुवाती गोलका लागि सहयोग पनि उपलब्ध गराए। चेल्सी स्टार काइ हभार्ट्ज र टिमो वार्नरले बेन्चबाट खेलको सुरुवात गरे। दुवै खेलाडी खेलको अन्तिममा मैदान प्रवेश गरेका थिए। एजेन्सी


























