असोज २३ । यूएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबादले तेस्रो जित निकालेको छ। दुबईमा बिहीबार राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ६९ रनले पराजित गर्दै हैदराबादले तेस्रो जित निकालेको हो।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको पन्जाब १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३२ रनमा समेटियो। पन्जाबका लागि निकोलस पुरनले ७७ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। त्यसबाहेक पन्जाबका सिमरन सिंह र केएल राहुलले ११/११ रन जोडे। हैदराबादका लागि राशिद खानले ३ विकेट लिदा खलिल अहमेद र टी नटराजनले २/२ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर २ सय १ रन बनाएको थियो। हैदराबादका लागि ओपनरद्वय जोनी बेयरस्टो र कप्तान डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले।
बेयरस्टो ९७ रनको अर्धशतकीय इनिङ्स खेल्दा वार्नरले ५२ रनमा आउट भए। पहिलो विकेटका लागि बेयरस्टो र वार्नरले १५ ओभरमा १ सय ६० रनको साझेदारी गरेका थिए। जितसँगै हैदराबादले ६ खेलमा ६ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। पन्जाबको भने ६ खेलमा पाँच हार र एक जितसहित तालिकाको पुछारमा छ। एजेन्सी

























