असोज २२ । भारतीय वायुसेनाले बिहीवार ८८औं स्थापना दिवस मनाएको छ। उक्त अवसरमा गाजियाबादको हिन्डन एयरबेसमा कार्यक्रम आयोजना गरिएको छ। त्यसमा वायुसेना प्रमुख आरकेएस भदौरियाले देशको नाममा सम्बोधन गरे।
फ्रान्सबाट केही दिनअघि ल्याइएका पाँचवटा राफेल विमानमध्ये दुईवटा यस अवसरमा प्रदर्शन गरिएको थियो। राफेलसँग ज्यागुआर लडाकू विमानहरूले फर्मेसन तयार पारेका थिए। राफेलले आकाशमा अनेकौं कला देखायो। राफेलसँगै सुखोई, मिग, ग्लोबमास्टर, अपाचे र चिनूक हेलिकप्टरले पनि आकाशमा शक्तिप्रदर्शन गरे। फ्लाई पास्टमा कुल ५६ विमान संलग्न रहे। देशी तथा विदेशी लडाकू विमानहरूका साथै अन्य विमान र हेलिकप्टर पनि देखिए।
देशलाई सम्बोधन गर्दै वायुसेना प्रमुख भदौरियाले सुरक्षामा विश्वस्त रहन भने। भारतलाई छिमेकी देशका आतंकवादीबाट खतरा रहेको उनले बताए। साइबर स्पेसमा पनि नयाँ चुनौती आइलागेको उनको भनाइ छ। वायुसेनाले प्रत्येक मोर्चामा आफूलाई तयार गरिरहेको र सीमामा पनि तीखो नजर राखेको उनले बताए।


























