असोज २० । विश्व स्वास्थ्य संगठन लिडर्सको एक विशेष बैठकमा संसारमा हरेक १० मध्ये एक व्यक्तिमा कोरोना संक्रमण भएको हुनसक्ने बताएको छ। एक वरिष्ठ अधिकारीका अनुसार यो अनुमानको अर्थ हो कि संसारको ठूलो जनसंख्याको एउटा ठूलो हिस्सा खतरामा छ।
हालसम्म संसारको डेढ सयभन्दा धेरै देशमा ३।५ करोड मानिस कोरोनाभाइरसद्वारा संक्रमित भएको पुष्टि भएको छ। यद्यपि, डब्ल्यूएचओका अनुसार संक्रमणको वास्तविक आँकडा ८० करोड नजिक हुनसक्छ। विशेषज्ञले लामो समयदेखि जति संक्रमित दर्ता गरिएका छन्, वास्तवमा संख्या त्योभन्दा थुप्रै गुणा बढी हुनसक्ने बताउँदै आएका छन्।
डब्ल्यूएचओको बैठक स्विटजरल्याण्डको जेनेभास्थित मुख्यालयमा भयो जसमा संसारभरीका देशले महामारीसँग जुध्न अपनाइएको तरिकामाथि चर्चा भयो।कोरोनाभाइरसको पहिलो संक्रमित चीनको ऊहानमा भेटिएका थिए। १० महिना बितिसकेको छ तर यो महामारी समाप्त हुने छाँटकाँटमा छैन।
केही देशमा महामारी फैलनबारे रोक्नका लागि लगाइएको प्रतिबन्ध खुकुलो पारेपछि महामारीको दोस्रो लहर देखिएको छ र केही देशमा संक्रमितको संख्या पहिलेको भन्दा धेरै भएको छ। डब्ल्यूएचओका हेल्थ इमर्जेन्सी प्रोग्रामका कार्यकारी निर्देशक माइक रयानले संसारका १० प्रतिशत जनसंख्या कोरोनाभाइरसको चपेटमा आइसकेको अनुमान गरेका छन्।
उनले भने, ‘यो संख्या अलग–अलग देशका हुन्, शहर र गाउँका र भिन्न भिन्न समूहको आधारमा भिन्न भिन्न छ।’ ‘तर यसको अर्थ यो हो कि संसारको एउटा ठूलो हिस्सा खतरामा छ। हामीलाई थाहा छ कि महामारी छिटो अन्त्य हुनेछैन तर हामीलाई यो पनि थाहा छ कि हामीसँग यो संक्रमण फैलन रोक्ने र जीवन बचाउने तरिका पनि छ।’
विश्व स्वास्थ्य संगठनका निर्देशक जनरल टेड्रोस एडनहोनम गेब्रियाससले संसारभरी भिन्न भिन्न देशमा भाइरसले भिन्न–भिन्न तरिकाले असर पुर्याएको छ र यो महामारीसँग जुध्नका लागि सबै एकसाथ आउनुपर्छ।
उनले भने, ‘यद्यपि, सबै देश यो भाइरसबाट प्रभावित भएका छन्, हामीले यो याद राख्नुपर्छ कि महामारीले कतै कम छ कतै बढी असर पारिरहेको छ। ७० प्रतिशत संक्रमित र मृत्यु १० देशमा दर्ता भएका छन्।’
जोन होपकिन्स युनिभर्सिटीका अनुसार भाइरसले अहिलेसम्म १० लाखभन्दा बढीको ज्यान गइसकेको छ। अमेरिका, भारत र ब्राजिलमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन्। बीबीसी


























