काठमाडौं, असोज १८ । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। डा. केसीका सहयोगी डाक्टर तोसिमा कार्कीले आइतबारदेखि डा। केसीलाई श्वासप्रश्वासमा समस्या देखिएको छाती दुख्ने समस्या देखिन थालेको बताइन्।
उनले डा.केसीलाई कृतिम अक्सिजन दिन सुरु गरिएको पनि बताइन्। डा.केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको र आइसीयु सपोटमा राख्नुपर्ने अवस्था रहेको डा.कार्कीले बताइन्।
‘डा.केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ, उहाँलाई स्वास फेर्न गाह्रो भएको छ,’ डा.कार्कीले भनिन्, ‘ डा.केसीले केही समयदेखि नियमित खाइरहनु भएको मुटुको समस्याको औषधि पनि खानु भएको छैन। उहाँको अवस्था आइसीयुमा राख्नुपर्ने बिरामीको जस्ता भएको छ।’ स्वास्थ्य अवस्था विग्रदै गएपनि औषधि उपचार गर्न नमानेको उनले बताइन्।
काठमाडौँ उपयत्यकामा कोरोना संक्रमण बढ्दै गएको र डा.केसीको रोगप्रतिरोधात्मक क्षमता घट्दै गएकाले उनलाई भेट्न निषेध गरिएको पनि डा.कार्कीले बताइन्।
डा.केसीको जीवनरक्षाको कामना गर्न सन्देश बुक बाहिरै राखिएको उनले बताइन्। चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै २१ दिनदेखि अनसनरत केसीका माग सुनुवाइको कुनै पहल नभएको उनीहरुले बताएका छन्।
डा.केसीको माग सम्बोधनका लागि सरकारलाई दबाव दिन त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले त्रिवि शिक्षण अस्पताल परिसरमै धर्ना दिन शुरु गरेका छन्।


























