असोज १८ । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (आइतबार) दुई खेल हुँदैछ। सारजाहमा हुने पहिलो खेलमा मुम्बई इण्डियन्स र सनराइजर्स हैदराबाद आमने सामने हुने छन्। दुबईमा दोस्रो खेलमा चेन्नई सुपर किङ्ग्सविरुद्ध किङ्स इलाभेन पन्जाब मैदान उत्रनेछ।
सारजाह क्रिकेट मैदानमा साविक विजेता मुम्बई तेस्रो जितको खोजीमा हुनेछ। मुम्बईलाई हराएर हैदराबाद समेत तेस्रो जित निकाल्न चाहन्छ। मुम्बई र हैदराबादबीचको खेल अपरान्ह पौने ४ बजे सुरु हुनेछ। मुम्बई ४ खेलमा २ जित र २ हारका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। समान खेलमा समान ४ अंक पाएको हैदराबाद नेट रन रेटको आधारमा मुम्बई भन्दा एक स्थान तल रहेको छ।
रोहित शर्माको कप्तानीमा रहेको मुम्बई पहिलो खेलमा चेन्नईसँग पराजित भएको थियो। दोस्रो खेलमा कोलकत्तालाई हराएको मुम्बई तेस्रो खेलमा बैंगलोरसँग पराजित भएको थियो। चौंथो खेलमा पन्जाबलाई पराजित गर्दै मुम्बईले दोस्रो जित निकालेको थियो।
यता, डेभिड वार्नरको कप्तानीमा रहेको हैदराबाद पहिलो र दोस्रो खेलमा पराजित हुँदा तेस्रो र चौथो खेलमा जित निकाल्न सफल भएको थियो। यस्तै दुबई क्रिकेट मैदानमा हुने दोस्रो खेलमा साविक उपविजेता चेन्नई र पन्जाब भिड्ने छन्। चेन्नई र पन्जाबबीचको खेल साँझ पौने ८ बजे सुरु हुनेछ। तालिकाको अन्तिमतर्फ रहेको दुबै टिम दोस्रो जितको खोजीमा हुने छन्।
महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई ४ खेलमा १ जित हात पार्दा २ अंकका साथ तालिकाको पुछारमा रहेको छ। समान खेलमा समान अंक पाएको पन्जाब नेट रन रेटको आधारमा पुछारबाट दोस्रो स्थानमा रहेको छ। पन्जाब केएल राहुलको कप्तानीमा मैदान उत्रनेछ। एजेन्सी


























