काठमाडौं, असोज १८ । सर्वसाधारण र संस्थापक शेयरको संरचना मिलाउन तथा तोकिएको चुक्तापुँजी पुर्याउन केही लघुवित्त कम्पनीले थप साधारण शेयर (एफपीओ) निष्काशन गर्ने भएका छन्। बिशेषगरि आईपीओ नेप्सेमा सुचिकृत भएका र नभएका लघुवित्त मर्ज भएर बनेका संस्थाहरुले नै शेयर संरचना मिलाउन एफपीओ निष्काशन गर्न लागेका हुन्।
त्यस्ता संस्थाहरु मर्ज भएमा एफपीओ निष्काशन गरेर शेयर संरचना मिलाउन सकिने व्यवस्था छ। यसैक्रममा हाललाई आरम्भ चौतारी, समाज र एनआरएन लघुवित्तले एफपीओ निष्काशन गर्ने तयारी गरेका छन्। यस्तै, वोमी र नयाँ नेपाल लघुवित्तले पनि एफपीओ निष्काशन गर्न बताइएको छ। उनीहरु आईपीओ जारी गरेर नेपाल स्टक एक्सचेन्जमा सुचिकृत कम्पनी हुन। उनीहरुले आईपीओ निष्काशन नगरेका कम्पनीलाई मर्ज गरेका छन्। त्यो अनुसार उनीहरुले एफपीओ निष्काशन गर्ने छ।
आरम्भ चौतारीले सिवाईसी नेपाल लघुवित्त र शालिग्राम लघुवित्तसँग मर्जरमा जादैं छ। उनीहरु बीच गत असोज ९ गते मर्जर सम्झौता भइसकेको छ। मर्जर प्रक्रिया सकिएसँगै एफपीओ निष्काशन गर्ने कम्पनीले बताएको छ। अहिले आरम्भ चौतारीको चुक्तापुँजी रु.२६ करोड २४ लाख छ। यस्तै, शालिग्रामको १ करोड ६८ लाख र सिवाईसीको ७ करोड छ। मर्जर पछि उनीहरुको चुक्तापुँजी ३५ करोड भन्दा बढी हुने छ।
यस्तै, एनआर लघुवित्तले पनि बिभिन्न संस्थाहरुलाई गाभेर एकीकृत कारोबार सुरु गरिसकेको छ। उक्त कम्पनीले पनि एफपिओ निष्काशन गर्ने प्रस्ताव सहित असोज १८ गते साधारण सभा बोलाएको छ। त्यसपछि आवश्यक प्रक्रिया पुरा गरेर एफपीओ निष्काशन गरिने बताइएको छ। यसैगरि हालै आईपीओ निष्काशन गरेर शेयर कारोबार सुरु गरेको समाज लघुवित्तले पनि आईपीओ निष्काशन गर्ने छ। उक्त लघुवित्तले नेप्सेमा सुचिकृत नभएको स्वस्तिक लघुवित्तसँग मर्जर सम्झौता गरेको छ। त्यो अनुसार समाज लघुवित्तले पनि एफपीओ निष्काशन गर्ने छ।
यसैगरि वोमी लघुवित्त वित्तीय संस्थाले ग्रामिण स्वयमसेबक लघुवित्तसँग मर्जरमा जाने सम्झौता गरेको छ। ग्रामिण स्वयमसेवक नेप्सेमा सुचिकृत छैन, त्यो अनुसार उनीहरुले पनि एफपीओ निष्काशन गर्ने छन्। यस्तै, नयाँ नेपाल लघुवित्तले सारथि लघुवित्तलाई मर्ज गरेर एकीकृत कारोबार शुरु गरिसकेको छ। सारथी पनि सुचिकृत कम्पनी होइन, त्यो अनुसार उक्त कम्पनीले पनि शेयर संरचना मिलाउन एफपीओ निष्काशन गर्ने तयारी गरेका छ। जसअनुसार ५ लघुवित्त कम्पनीले एफपीओ निष्काशन गर्ने देखिन्छ।


























