चितवन, असोज १७ । वैशाख महिनादेखिको तलब सुविधा नपाएको भन्दै संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) ले शनिबार चितवनको भरतपुरमा मौन प्रदर्शन गरेको छ। इष्टु राष्ट्रिय समितिको निर्देशनअनुसार शनिवार देशभरका सबै जिल्लाहरूमा एकसाथ मौन प्रदर्शन गरिएको इष्टु चितवनका अध्यक्ष जनकराज घिमिरेले बताए। संस्थागत विद्यालयमा कार्यरत शिक्षकले चाडवाड मुखैमा आए पनि विद्यालय सञ्चालक समितिबाट हालसम्म कुनै पनि सेवा सुविधा नपाएको उनले बताए।
इष्टुको राष्ट्रिय समिति सदस्यसमेत रहेका घिमिरेले कतिपय विद्यालयले चैतको पनि सेवा सुविधा नपाएको बताए। ‘हामीले जेठ अन्तिम साताबाटै आन्दोलन गर्दै आएका छौँ, तर अहिलेसम्म पनि विद्यालयले वास्ता गरेको छैन,’ उनले भने, ‘त्यसैले फेरि आन्दोलनमा सक्रिय हुन बाध्य भएका छौँ।’ पटकपटक ध्यानाकर्षण गराउँदा पनि शिक्षक कर्मचारीको सेवा सुविधाबारे नबोलेपछि दबाब दिनकै लागि आन्दोलनको बाटो रोज्न बाध्य भएको उनको भनाइ छ।


























