चितवन, असोज १५ । नारायणी डेभलपमेण्ट बैंकको १८ औं वार्षिक साधारण सभा भोली (शुक्रवार) स्टार ब्याङ्क्वेट रत्ननगर चितवनमा दिउँसो १ बजे हुने भएको छ। कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो।
साधारण सभाले चुक्तापूँजी वृद्धि गर्नको लागि सत प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार ‘ख’ र्गको जिल्ला स्तरीय बैंकलाई न्यूनतम पूँजी रू. ५० करोड पर्ने भएकाले कम्पनीको अधिकृत जारी र चुक्तापूँजी वृद्धि गर्ने रसोही अनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक शंसोधन गर्ने प्रस्ताव रहेको छ। साथै, यस बैंक र अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सँग सम्बन्धी आवश्यक कार्यहरु गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने रहेको छ।
साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका असोज ८ गतेदेखि १६ गतेसम्म बन्द रहने कम्पनीले जानकारी गराएको छ। असोज ७ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. ६ करोड ५६ लाख रहेको छ। सत प्रतिशत हकप्रद शेयर जारी गरेपछि पूँजी रू. १३ करोड १२ लाख पुग्नेछ। यस कम्पनीले समस्याग्रस्त बैंकको सूचीबाट साउन ८ गते फुकुवा भएको हो।


























