मुम्बई, असोज १५ । बलिउड अभिनेता सलमान खान यतिबेला आफ्नो फिल्म राधेको सुटिङ तयारीमा छन्। यो फिल्मको छायांकन क्वारेन्टाइनमा बसेर उनले सम्पन्न गर्ने भएका छन्। फिल्मको छायांकन पूरा नभएसम्म सलमानसहित सबै कलाकार प्राविधिकले बाहिरी व्यक्तिहरूको सम्पर्कमा रहने छैनन्। उनीहरूले क्वारेन्टाइनमा बसेर यो फिल्मको छायांकन सकेपछि बाहिरी व्यक्तीको सम्पर्कमा आउने भएका छन्।
फिल्मका लागि सबै सेट तयारी भएकाले अब शुक्रबारबाट उनी राधेको छायांकनमा जोडिने भएका छन्। बलिउडमा अक्षय कुमार, सञ्जय दत्त, आयुष्मान खुरानासहित थुप्रै कलाकार अहिले फिल्मको छायांकनमा व्यस्त छन्। यही क्रममा सलमान खान पनि नयाँ फिल्म राधेको छायांकनमा जोडिन लागेका हुन्।
केही दिनअघि यो फिल्मको छायांकन गर्न लागिएकोमा कोरोनाको संक्रमण फेरि बढेपछि काम रोकिएको थियो। तर, अब पूर्ण सुरक्षित भएर फिल्मको छायांकन सुरु गर्न लागिएको सलमानले बताएका छन्। उनका अनुसार सबै कलाकार र प्राविधिकलाई सुरक्षित राखेर छायांकन सुरु गरिने भएको छ।
यसअघि ७० प्रतिशत छायांकन सम्पन्न भइसकेको राधेको अब बाँकी सुटिङ १५ दिनमा सक्ने लक्ष्य अभिनेता सलमानको छ। अहिलेको अवस्थामा केही सुरक्षा अपनाउनुपर्ने भएकाले विगतको भन्दा छायांकन सक्न केही दिन बढी समय लाग्न सक्ने पनि उनको कथन छ। एजेन्सी


























