असोज १२ । बलिउड महानायक अमिताभ बच्चनले सञ्चालन गर्दै आइरहेको चर्चित शो ‘कौन बनेगा करोडपति’ को १२ औं सिजन आजबाट प्रसारण हुँदैछ।
‘केबीसी १२’ आजबाट सोनी च्यानलमा हरेक सोमबारदेखि शुक्रबारसम्म राति ९ बजे (नेपालमा सवा ९ बजे) प्रसारण हुँदैछ। २० वर्षको यात्रामा ‘केबीसी’ पहिलोपटक बिनालाइभ अडियन्स सुरु हुन लागेको हो। प्रत्यक्ष दर्शक सहभागी हुन नपाए पनि टेलिभिजनमार्फत हेर्ने सबै दर्शकमा त्यो उत्साह कायमै राख्न अन्तिम सम्पादनको समयमा दर्शकको आवाज समावेश गरिएको छ।
साथै सेटमा दर्शकको अभाव महसुस गर्न नदिन होस्ट अमिताभ बच्चन प्रतिस्पर्धीहरुसँग अरु बेलाभन्दा बढी अन्तर्क्रिया गर्दै गरेको देखिनेछन्। प्रत्यक्ष दर्शकको उपस्थित नहुने भएकाले यस सिजनमा प्रतिस्पर्धीहरुले स्टुडियोमा भएका दर्शकहरुसँग ‘अडियन्स पोल’ मार्फत प्रयोग गर्ने लाइफलाइनको विकल्पमा ‘भिडियो अ फ्रेन्ड’ हुनेछ। यसका साथै प्रतिस्पर्धीले ‘इन्टेलिजेन्ट एक्सपर्ट’ वा ‘फ्रिल्प द क्वेसन’ पनि छान्न पाउनेछन्।
केबीसी १२ की क्रियटिभ प्रोड्युसर सुजाता संघमित्राका अनुसार ‘फ्रिल्प द क्वेसन’ मा पनि ‘मेरो सहर’, ‘मेरो राज्य’ गरी जम्मा ११ वटा विकल्प छान्न पाइनेछ। साथै शुक्रबारको एपिसोडमा रियल लाइफ लाइन हिरो अर्थात कर्मवीर विशेष हुनेछ।
९५ एपिसोड रहने केबीसी १२ को प्रसारण भने १९ सातासम्म हुनेछ। महामारीलाई ध्यानमा राख्दै आवश्यक सबै स्वास्थ्य, सुरक्षाका मापदण्ड अपनाएर शोको छायांकन गरिएको छ। एजेन्सी

























