मुम्बई, असोज १२ । भारतमा लागूऔषध नियन्त्रणसम्बन्धी ब्युरो ‘एनसीबी’ले बलिउड अभिनेत्री दीपिका पादुकोनसँग शनिबार बयानको क्रममा उनको दुई वटा मोबाइल अनुसन्धानका लागि भन्दै जफत गरेको छ। शनिबार उनीसँग करिब ६ घन्टा लिइएको बयानमा भरपर्दो जवाफ नआएको एनसीबीका अधिकारीहरूले बताएका छन्। पटकपटक दीपिका रोएपछि पहिलो चरणको सोधपुछमा प्रभाव परेको अधिकारीहरूको भनाइ छ।
उनीसँग अझै दुई चरणमा थप सोधपुछ गरेपछि मात्र त्यसको परिणाम आफूहरूले बाहिर ल्याउने सो ब्युरोले जनाएको छ। दीपिकासँग बयानका क्रममा उनका पति एवं बलिउड अभिनेता रणवीर सिंह पनि एनसीबीको कार्यालय पुगेका थिए।
तीन वर्षअघि अभिनेत्री दीपिका पादुकोनले बनाएको ह्वाट्स अपको एउटा गु्रपमा कलाकारहरूबीच लागूऔषध लेनदेनबारे कुराकानी हुने गरेको सो ब्युरोको अनुसन्धानमा खुलेको छ। अभिनेत्री दीपिकासँगै दिवंगत अभिनेता सुशान्तसिंह राजपूत, दीपिकाको म्यानेजर करिश्मा, प्रकाश र सुशान्तको म्यानेजर जया शाहबीच लागूऔषध सेवनबारे सो च्याटमा गफ हुने गरेको रेकर्ड फेला परेको छ।
अभिनेत्री दीपिकाले सो ग्रुप आफ्नो भएको, कुराकानी पनि भएको तर आफूले लागूऔषध सेवन नगरेको दाबी गरेकी छन्। उनको अबको बयानबाट नयाँ कुरा आउनेमा एनसीबीका पदाधिकारीहरू आशावादी छन्। एजेन्सी


























