चितवन, असोज १० । शनिबार भरतपुर १३ का जन्हु चौधरीको ज्यान लिएको नरभक्षी बाघलाई चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ। शनिबार दिनभरको प्रयासपछि निकुञ्जको टोलीले डाट गरेर नियन्त्रणमा लिइएको हो। एकपटक मान्छेमाथि आक्रमण गरेको बाघले फेरि पनि मान्छेमाथि नै आक्रमण गर्न सक्ने हुँदा मानवबस्तीभन्दा टाढा सुरक्षित स्थानमा लगेर छाडिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए। नियन्त्रणमा लिएकाे बाघलाई कसरा लगिएकाे छ भने चाैधरीकाे शव पाेष्टमार्टमकाे लागि भरतपुर अस्पताल पठाइएकाे छ।
स्थानीय वेलसहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका ६३ वर्षीया चौधरीलाई बाघले शनिबार बिहान करिब १० बजेको समयमा आक्रमण गरेको थियो। घटनास्थल र चौधरीको घर सामुदायिक वनको गेटको नजिकै पर्छ। चितवनमा बाघले मान्छे खाएको यो नै पहिलो घटना भने होइन, हरेक वर्षजसो निकुञ्ज आसपासका क्षेत्रमा मान्छेमाथि आक्रमण हुँदै आएको छ। पटकपटक यस्ता घटना दोहोरिँदा पनि नियन्त्रणको प्रयास भने सफल हुन सकेको छैन।


























