असोज ८ । अमेरिकामा ब्रिओना टेलरको मृत्युका सम्बन्धमा कुनै पनि प्रहरी अधिकारीलाई अभियोग नलगाउने बृहत जुरीको फैसलाविरुद्ध भएको प्रदर्शनमा दुई प्रहरीमाथि गोली प्रहार भएको छ। बृहत जुरीको फैसलापछि केन्टकी राज्यको लुइजभिलमा हजारौँ मानिस प्रदर्शनमा उत्रिएका हुन्।
गएको मार्च १३ मा प्रहरी अधिकारी २६ वर्षकी टेलरको घरमा खानतलासीका लागि गएका थिए। प्रहरीले उनलाई धेरै पटक गोली प्रहार गरेका थिए। प्रहरीको गोली लागेर मृत्यु भएकी टेलरका लागि न्यायको माग गरी प्रदर्शन भएको हो। गोली प्रहार गर्ने प्रहरी अधिकारी ब्रेट हान्किन्सनमाथि अभियोग दर्ता भएको छ र हत्या अभियोग होइन। यस्तै अरु दुई अधिकारीमाथि भने अभियोग दर्ता भएन।
प्रदर्शनको क्रममा गोली लागेका दुई प्रहरी अधिकारीको अवस्था खतरामुक्त रहेको लुइजभिलका प्रहरी प्रमुख रोबर्ट शोर्डरले बताएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। गोली प्रहार गरेको अभियोग लागेका व्यक्ति नियन्त्रणमा रहेको उनले बताए।
लुइजभिलमा आपतकालीन अवस्था घोषणा गरिएको छ र नेशनल गार्ड तैनाथ गरिएको छ। मेयर ग्रेग फिशरले शहरमा तीन दिनका लागि कर्फ्यू जारी गरेका छन्। कर्फ्यूका बाबजुद पनि प्रदर्शनकारी सडकमा छन्। केन्टकीका गभर्नर एण्डी बेशरले प्रदर्शनकारीलाई घर फर्किन भनेका छन्। एजेन्सी


























