असोज ७ । यूएईमा चलिरहेको १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ। मंगलबार राति भएको खेलमा चेन्नई सुपर किङ्सलाई १६ रनले पराजित गर्दै राजस्थानले विजयी सुरुवात गरेको हो।
सारजाहमा क्रिकेट मैदानमा राजस्थानले दिएको २ सय १७ रनको उच्च लक्ष्य पच्छ्याएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर २ सय रन मात्र बनाउन सक्यो। चेन्नईका फाप डु प्लेसिसीले ३७ बलमा ७२ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन्।
यस्तै शेन वाटसनले ३३ तथा केदार जादबले २२ रन बनाए। मुराली विजय २१ रनमा आउट हुँदा साम करनले १७ रन जोडे। कप्तान महेन्द्र सिंह धोनी २० रनमा अविजित रहे। राजस्थानका राहुल टेवाटियाले ३ विकेट लिए। श्रेयास गोपाल, जोफ्रा आर्चर र टम करनले १र१ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २ सय १६ रन बनाएको थियो।
राजस्थानको उच्च स्कोर बनाउने क्रममा सन्जु सामसन र कप्तान स्टिभ स्मिथले अर्धशतकीय इनिङ्स खेले। सामसनले ३२ बलमा ७४ रनको अर्धशतकीय इनिङ्स खेले। स्मिथले ४७ बलमा ६९ रन बनाए। यस्तै जोफ्रा आर्चरले अविजित २७ रन जोड्दा टम करनले अविजित १० रन जोडे। चेन्नईका लागि साम करनले ३ विकेट लिए। यस्तै दिपक चाहर, पियुस चावाला र लुंगी एनजिडीले एक एक विकेट लिए।
जितसँगै राजस्थानले २ अंक जोडेको छ। चेन्नईले भने पहिलो हार व्यहोरेको छ। पहिलो खेलमा चेन्नईले साविकको विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले हराएको थियो। एजेन्सी


























