गुल्मी, असोज ५ । कार्यकर्ता कुटपिटको विषयलाई लिएर विवाद हुँदा गुल्मीमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। झडपमा दुवै पक्षका गरि ६ जना घाइते भएका छन्।
आफ्ना कार्यकर्ता कुटपिट गर्नेलाई प्रहरीले पक्राउ नगरेको भन्दै कांग्रेसले सोमबार जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रर्दशन गरेको थियो। प्रदर्शनकै क्रममा प्रशासन कार्यालयभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले उनीहरुलाई रोक्न खोज्दा झडप भएको हो।
प्रहरी संयमित रहेपनि प्रदर्शनकारीले प्रहरीकै सुरक्षा सामग्री खोस्ने प्रयास गर्ने र हुलहुज्जत गर्न थालेपछि रोक्ने प्रयास गर्दा सामान्य झडप भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले बताए।
झडपमा कांग्रेस जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ र नेता पूर्णबहादुर केसी घाइते भएको कांग्रेस जिल्ला सचिव खिलध्वज पन्थीले बताए । प्रहरीतर्फ प्रहरी निरीक्षक राजकुमार रावलसहित चार प्रहरी जवान घाइते भएको डीएसपी पन्तले बताए। सामान्य घाइते सबैको जिल्ला अस्पताल गुल्मीमै उपचार भइरहेको छ।
सभापति श्रेष्ठले प्रहरी र प्रशासनले सत्ताको आडमा घटनामा संलग्नलाई उन्मुक्ति दिइरहेको आरोप लगाए। उनले कांग्रेस कार्यकर्ता कुटपिट गर्नेलाई पक्राउ नगरे चरणबद्ध आन्दोलन गर्ने बताए। कुटपिटपछि दुवै पक्षले कारबाहीको माग गर्दै आएका छन्।


























