काठमाडौं, असोज ५ । गायिका विष्णु माझीले दुई लाख पारिश्रमिक लिएर गीत गाएकी छिन्। नेपालमा सर्वाधिक पारिश्रमिक लिएर गीत गाउने गायिका माझीले दुई लाख रुपैयाँ लिएर गाएकी हुन्।
‘झुम्का झलक्कै’ विष्णुले दुई लाख लिएर गाएको पहिलो गीत हो। हिजो साँझ सार्वजनिक भएको यो गीतमा विष्णुसँगै शनी विश्वकर्माको स्वर छ। शनी गायन प्रतियोगिता ‘नेपाल लोक स्टार’का विजेता हुन्। उनको यो पहिलो गीत हो। “विष्णु दिदीले डेढलाख बाट बढाएर दुईलाख पारिश्रमिक बनाए पछि गाएको यो पहिलो गीत हो,” शनीले भने।
महङ्गो पारिश्रमिक लिएर गाउने उनले यसअघि डेढलाख पारिश्रमिक लिँदै आएकी थिइन्। तर उनले डेढलाख बाट बढाएर पारिश्रमिक दुईलाख पुर्याएपछि विष्णुलाई केही समय गाउन कसैले पनि अफर गरेको थिएन।
एक वर्ष अगाडि गायक हेमन्त शर्माको गीत ‘बनमारा’ गाउँदासम्म विष्णु एकलाख पारिश्रमिक लिन्थिइन्। त्यसपछि केही गीतमा डेढ लाख पारिश्रमिक लिएकी उनले अहिले बढाएर दुई लाख पुयार्एकी हुन्। दुई वर्ष अगाडि ‘सालको पात’ गीत लोकप्रिय भएपछि उनले आफ्नो पारिश्रमिक अस्वाभाविक रुपमा बढाएको संगीतकर्मीहरु बताउँछन्।
विष्णु सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट टाढै रहेकी गायिका हुन्। उनी रेकर्ड गर्न स्टुडियो निस्किने बाहेक अन्य कामका लागि निस्किन्न्। स्टुडियोमा पर्दा लगाएर गीत गाउने उनी प्रायः कसैसँग बोल्दिनन्।
“डोयट् गीत भए पनि हामीले एक्ला एक्लै गीत गायौं। तर म उहाँले गीत गाउँदा स्टुडियोमै थिएँ,” शनी भन्छन्, “उहाँले गीत गाउने टेक्निक भने मैले पनि देखेँ।” विष्णु स्टुडियोमा आएर एक घण्टा गाउने गीतको डेमो सुन्छिन्। अर्को एक घण्टा गाउने अभ्यास गर्छिनर र अर्को एक घण्टा लगाएर रेकर्ड गर्छिन्। सामान्यतया नेपालमा गायक–गायिकाहरु गीत गाएको १० देखि २० हजारसम्म पारिश्रमिक लिन्छन्।


























