काठमाडौं, असोज ५ । ईंटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका प्रतिनिधिसभाका निलम्बित सांसद तथा पूर्वमन्त्री अफताब आलमसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले फाइल मगाउने आदेश जारी गरेको छ।
न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आइतबार आलामको मुद्दाका सम्बन्धमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगञ्जले पुर्पक्षका लागि थुनामा पठाउने आदेश (कैफियत प्रतिवेदन) मगाउने आदेश जारी गरेको हो। जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आधार र कारणसहित आदेश सर्वोच्च अदालतले माग गरेको हो।
आलमले कोभिड –१९ को महामारीको समयमा जेलभित्र सङ्क्रमणको जोखिम भएको उल्लेख गर्दै गत भदौ ३१ गते रिहाई माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । सोही निवेदन माथिको प्रारम्भिक सुनुवाई पछि सो आदेश जारी भएको हो। आलमलाई २०७६ कात्तिक २९ गते जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो।
जिल्ला अदालतको आदेशलाई २०७६ माघ २४ गते उच्च अदालत वीरगञ्जले सदर गरेको थियो । सरकारी वकिल कार्यालय रौतहतले आलमलाई ४५ वर्ष कैद सजायको माग गर्दै मुद्दा दायर गरेको थियो।


























