काठमाडौं, भदौ ३१ । लेग स्पिनर सन्दीप लामिछानेलाई नेपाली क्रिकेटको ग्लोबल आइकन बनाउने काम भारतको फ्रेन्चाइज क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आईपीएल) ले गर्यो। सन् २०१८ को संस्करणमा दिल्ली क्यापिटल्स (डियरडेभिल्स) ले सन्दीपलाई अक्सनबाट न्युनतम मूल्यमा अनुबन्धित गरेको थियो।
जतिबेला एसोसियट राष्ट्रबाट आईपीएलमा छनोट हुने सन्दीप तेस्रो खेलाडी थिए। त्यसअघि नेदरल्यान्ड्सका रायन टेन डोस्काटे र युएईका चिराग सुरीले मात्र आईपीएल टिममा अनुबन्धको मौका पाएका थिए। टेष्ट राष्ट्रका स्टार खेलाडीले भरिएको टिममा छनोट हुनु एसोसियट राष्ट्रका खेलाडीका लागि सामान्य थिएँन। तर, नेपालका सन्दीपले मौका पाए। अन्य कुनैपनि टी(ट्वान्टी प्रतियोगिता नखेलेका सन्दीप आईपीएलमा छनोट हुनु सामान्य थिएन।
पहिलो सिजनमा नै डेब्युको मौका पाएका सन्दीपले ३ खेलमा नै आफ्नो क्षमता देखाए। विश्वको ध्यान आफुमा केन्द्रित गराउन सफल भए। डेब्यु सिजन ३ खेलमा ५ विकेट लिएर सन्दीपले आफ्नो परिचय विश्व क्रिकेटमा दिए। आईपीएल लगत्तै सन्दीपले वेष्ट इण्डिजविरुद्ध भएको च्यारिटी खेलका लागि विश्व(११ टिममा स्थान बनाए । सन्दीपले आफ्नो राष्ट्रबाट भन्दा पहिले विश्व(११ टिमबाट टी(ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरे।
त्यसयता सन्दीप वेष्ट इण्डिजको क्यारेबियन प्रिमियर लिग, अष्ट्रेलियाको बिग बास, पाकिस्तान सुपर लिग, अफगान प्रिमियर लिग, टी–१०, ग्लोबल टी–२० लिग र बंगलादेश प्रिमियर लिगमा सहभागिता जनाउदै आएका छन्। विश्व क्रिकेटमा पछिल्लो समय सन्दीप नेपालको प्रतिनिधि नै बनेका छन्। सायद अब सन्दीप बिना ति सबै फ्रेन्चाइज नेपालीको लागि अधुरो लाग्न सक्छ।
सन्दीप यतिबेला आफ्नो अन्तराष्ट्रिय क्रिकेटको पहिलो स्टेसन आईपीएलकै लागि युएईमा रहेका छन्। सन्दीप लगातार तेस्रो वर्ष आईपीएल खेल्न युएई पुगेका हुन्। कोरोनाको महामारीको कारण भारतमा आयोजनाको सम्भावना नभएपछि १३ औं संस्करणको आईपीएल युएईमा हुन लागेको हो।
यहिँ शनिबारबाट सुरु हुने प्रतियोगितामा सन्दीपको टिम दिल्लीको पहिलो खेल भने दोस्रो दिन हुनेछ। आगामी आइतबार दिल्लीले किङ्स इलाभेन पन्जाबविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। तर, सन्दीपले पहिलो खेल खेल्ने सम्भावना छैन। किनकि सीपीएल खेलेर युएई पुगेका सन्दीप क्वारेन्टिनमा रहेका छन्।
यस्तै बाँकी खेलको लागि समेत सन्दीपले यस पटक कडा मेहनत गर्नु पर्ने देखिएको छ। दिल्लीको टिम अनुसार सन्दीपले यस सिजन धेरै खेलमा बेञ्चमा बस्नु पर्ने देखिन्छ। कारण, दिल्लीमा रहेका तीन भेट्रान स्पिनर।
प्लेइङ सेटमा स्थान बनाउन सन्दीपले पहिलो सिजनबाटै स्पिनर अमित मिश्रासँग प्रतिस्पर्धा गर्नु परेको थियो। दोस्रो सिजन मिश्रासँगै अक्षर पटेल थपिए। अहिले सन्दीपले भेट्रान रविचन्द्र अश्विनसँग समेत प्रतिस्पर्धा गर्नु पर्नेछ। दिल्लीमा यस पटक स्पिनरको कुनै कमी छैन। त्यसमा समेत आश्विन र पटेलले आवश्यकता अनुसार ब्याटिङ गर्न सक्छन्।
त्यसैले सन्दीपले विश्व क्रिकेटमा छाड्दै आएको छापको प्रभाव यस पटक नदेखिन सक्छ। यद्दपी सीपीएलमा लयात्मक बलिङ गरेका सन्दीपले टिमको आवश्यकता पुरा गर्नेमा विश्वास गरिएको छ। डेब्यु वर्ष सन्दीपले ३ खेल खेल्दा दोस्रो वर्ष दिल्लीबाट ६ खेल खेल्ने मौका पाएका थिए।
आईपीएलले १३ औँ संस्करणसम्म आईपुग्दा दिल्ली उपाधि नजिक समेत पुग्न सकेको छैन। तर, यस पटक दिल्लीलाई उपाधिको दाबेदार मानिएको छ क्रिकेट पण्डितहरु दिल्लीले उपाधि जिते आश्चर्य मान्नु नपर्ने बताउदै आएका छन्। क्रिकइन्फोले सार्वजनिक गरेको टिम प्रिभ्युमा भारतीय कमेन्टेटर आकाश चोपडाले दिल्लीले उपाधि जित्ने बताईसकेका छन्।
पूर्व खेलाडी तथा दिल्लीका पूर्व कप्तान गौतम गम्भीर र डस्टिन सिल्गार्डोले समेत दिल्ली कम्तिमा प्लेअफ पुग्ने टिम रहेको बताएका छन्। यस्तै प्लेइङ सेटको चार विदेशी खेलाडीको रुपमा सन्दीपलाई समेट्ने क्रिकेट पण्डितहरु बताउछन्। क्रिकइन्फोले भने सन्दीपलाई प्लेइङ(११ बाहिर राखेका छन्।


























