चितवन, भदौ २९ । जिल्ला प्रशासन कार्यालय चितवनले मलमा कालोबजारी गरेको भन्दै चार जनालाई जरिवाना गरेको छ।
पूर्वी चितवनको रत्ननगर नगरपालिका–१ बकुलहरमा रहेको निर्मल बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक, बिक्री उपसमितिका संयोजक र दुई सदस्यलाई प्रशासनले मलमा कालोबजारी गरेको भन्दै जनही १० हजार रूपैयाँ जरिवाना गरेको हो।
मल कालोबजारी गरेको अभियोगमा सहकारीका व्यवस्थापक विनोद अधिकारी, बिक्री उपसमितिका संयोजक रामकृष्ण तिम्सिना तथा सदस्यहरु निर्मल घिमिरे र मायानाथ अर्याललाई पक्राउ परेका थिए।
सहकारीले कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा ३ विपरीत कसुर गरेको ठहर गर्दै उनीहरुलाई जरीवाना र बिक्रीका लागि राखिएको मल जफत गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिम्खडाले जानकारी दिए।
सहकारीमा खोलिएको अवस्थामा रहेको एक हजार ५० किलोग्राम र नखोलिएको ३० बोरा युरिया मल जफत गर्ने निर्णय गरेकोसमेत सिम्खडाले बताए।


























