काठमाडौं, भदौ २८ । कोरोना कहर लम्बिँदै जाँदा काठमाडौं उपत्यकामा दिउँसै लुटपाटका घटना बढ्न थालेका छन्।
काठमाडौंमा बसका यात्रुको ठूलो रकम लुटपाट गरेर भाग्दै गरेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
शनिबार साँझ बाफलचोकबाट स्वयम्भू जाने क्रममा सोल्टी दोबाटोमा बसका यात्रुको ७१ हजार ५ सय रुपैयाँ लुटेर गाडीबाट झरेर भागेका चार जनालाई प्रहरीले ट्याक्सी चढ्न लाग्दा पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १४ कलंकीका २४ वर्षीय सन्तोष विष्टलगायत ४ जना रहेका छन्। बाँके कोहलपुर नगरपालिका ११ घर भएका ४२ वर्षीय पुरुषको रकम लुटेर उनीहरु भाग्दै थिए।
पीडितले प्रहरीलाई खबर गरेपछि महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई बा.२ ज ४१७ नम्बरको ट्याक्सी चढेर भाग्न लागेको अवस्थामा फेला पारेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


























