भदौ २७ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फ्रेन्चाईज टिम कोलकत्ता नाइट राईडर्सले अमेरिकाका फास्ट बलर अली खानलाई अनुबन्ध गर्ने भएको छ।
कोलकत्ताले इंग्ल्यान्डका बलर ह्यारी गर्नीको स्थानमा अलीलाई अनुबन्ध गर्ने भएको हो। गर्नी कुमको चोटका कारण आईपीएल खेल्न नक्सने भएपछि कोलकत्ताले अलीलाई अनुबन्ध गर्ने तयारी गरेको हो।
कोलकत्ताले अली अनुबन्धबारे औपचारिक केहि बताएको छैन। तर, क्रिकइन्फोले कोलकत्तामा गर्नीलाई २९ वर्षीय अलीले प्रतिस्थापन गर्ने जनाएको छ। उनी अक्सनमा भने बिक्रि भएका थिएनन्।
कोलकत्तामा अनुबन्धित भएमा अली आईपीएल खेल्न पहिलो अमेरिकी खेलाडी बन्ने छन्। यस्तै अली यस वर्षको आईपीएल खेल्ने दोस्रो एसोसियट राष्ट्रका खेलाडी समेत बन्ने छन्। नेपालका सन्दीप लामिछाने यस अघि दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्दै आएका छन्।
पाकिस्तानमा जन्मिएका अलीले हालै क्यारेबियन क्रिकेट लिगमा च्याम्पियन टिम ट्रिनबागो नाइट राइडर्सबाट खेलेका थिए। सीपीएलमा उनले ८ खेलमा ८ विकेट लिएका थिए।
अलीले सन् २०१६ मा ओमानसँग खेल्दै अमेरिकाको राष्ट्रिय टिममा डेब्यु गरेका थिए।
कोरोना भाईरसको कारण आईपीएलको १३ औं संस्करण युएईमा आयोजना हुँदैछ। आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुनेछ।
उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्ससँग खेल्नेछ। उद्घाटन खेल सेप्टेम्बर १९ मा अबुधाबीमा हुनेछ।
दिनेश कार्तिकको कप्तानीमा मैदान उत्रने कोलकत्ताले मुम्बई इन्डियन्ससँग पहिलो खेल खेल्नेछ। एजेन्सी


























